सशस्त्र प्रहरीको लिखित परीक्षामा दुई नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ – सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

पुस १७ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र  धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई रहेका छन्।

बिज्ञापन

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर  १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने  सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।