
बनेपा- हरेक १२्र वर्षमा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर प्रयागका नामले चिनिने पनौतीको त्रिवेणीघाट (शचीतीर्थ)मा आगामी माघ १ गतेदेखि बाह्र वर्षे मेलाको लाग्दैछ ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले मेलामा हुने भीडभाडलाई कम गर्न तथा मेलामा आउने भक्तजनलाई सहज आवागमनका लागि पनौती गेटबाट तरकारी बजार जोड्ने पुण्यमाता खोला र मेला लाग्ने त्रिवेणीघाट नजिकै रोसी खोलामा दुईवटा बेलिब्रिज हाल्ने काम सम्पन्न भएको बताए ।



यसैगरी, मेलामा आउने दर्शनार्थीलाई नुहाउनका लागि रोसी खोलामा सिँढी, बाटो, ड्याम, नुहाउने प्रयोजनका लागि धारा, भत्केका मन्दिर पुनर्निर्माण तथा पनौतीको बजारभित्र रहेका मठ–मन्दिरको रङ्गरोगन गर्ने काम भएको छ ।

मकर मेला मूल व्यवस्थापन समितिका संयोजक पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले मल्पी–लीलावती बृहत् सिँचाइ आयोजनाको क्यानलबाट विहाबर खोलाको पानी म्यासिला र टौखाल खोल्साबाट प्रवाह गर्ने तयारी भएको बताए । यसअघि वि.सं. २०६६ सालमा मकर मेला लागेको थियो ।
स्कन्दपुराणअन्तर्गत हिमवत् खण्डमा समेत पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाका बारेमा उल्लेख छ । गौतम ऋषिकी परमसुन्दरी श्रीमती अहिल्याको रूपबाट मोहित भएका देवराज इन्द्रले गौतम ऋषिको भेषमा अहिल्याको सतित्त्वहरण गरेका थिए ।
इन्द्रबाट आफ्नी पत्नीको सतिìवहरण भएको थाहा पाएपछि ‘जुन वस्तुका लागि बढी लालसा राखेर यो पापकर्म ग-यौँ, त्यही वस्तु तिम्रो शरीरभर उत्पन्न होस्’ भनेर इन्द्रलाई ऋषिले श्राप दिएपछि इन्द्रका शरीरभर पापका चिह्नस्वरूप हजारौँ योनी उत्पन्न भएको पाइएको पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूले बताए ।
गौतम ऋषिको श्रापपछि शरीरभर योनी उत्पत्ति भएपछि गुरु बृहस्पतिको निर्देशनमा इन्द्रले पनौतीमा आई निरन्तर १२ वर्षसम्म तपस्या गरेपछि उनको शरीरका सबै योनी हटेर पापबाट मुक्त भएको इतिहासमा उल्लेख रहेको उनले बताए ।
आफ्नो सबै पापबाट मुक्त भएपछि इन्द्रले इन्द्रेश्वर महादेवको स्थापना गरी बाह्र वर्षे मकर मेला चलाएको किम्बदन्ती छ ।