
नेपाल राष्ट्र बैंकले २८ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा एक वर्षका लागि लगानी गर्न चाहेको बताएको हो ।

आगामी माघ २ गतेदेखि आउँदो वर्ष २०७९ माघ १ गतेसम्म कुल ३६५ दिनका लागि यस्तो रकम ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ ।



इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले यहीँ पुस १८ गते दिउँसो २ बजेभित्र निक्षेप माग गर्न सक्नेछन् ।

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले २२ करोड ४६ लाख रुपैयाँ पाउनेछन् भने ‘ख’ वर्गका विकास बैंकहरुले ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुले बढीमा १ करोड ४० लाख रुपैयाँ निक्षेप पाउनेछन् ।
तर, उक्त निक्षेप पाउन बैंक तथा वित्तीय कम्पनीहरुको स्टाटस गुमेको हुनुहुँदैन ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने बैंकले जनाएको छ ।
थप, निक्षेप चाहने बैंकको निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको कम्तिमा पनि पाँच प्रतिशत भन्दा कम हुने पर्ने बैंकको सर्त रहेको छ ।