
बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।पहिरोले भवन भत्किँदा विद्यार्थी खुल्ला आकाशमुनि पठनपाठन गर्न बाध्य छन्। गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो।

विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताए। विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको छ। भवन नहुँदा विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन्। कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्यार्थी अध्ययनरत छन्।



विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै एक किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन सञ्चालन गरिएको प्रधानाध्यापक चन्दले बताए। बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन कार्य समेत प्रभावित हुने गरेको छ। प्रधानाध्यापक चन्दले भने, ‘विद्यार्थीलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन, बालबालिकालाई घामपानी परेको बेला ओत लाग्ने ठाउँ पनि छैन।

भएका सबै फर्निचर, कुर्सीलगायत सामग्री पनि पहिराले पुरिएका छन्।’दिनभरि घाम नलाग्ने बालबालिकालाई पठाउनुपर्दा समस्या भएको उनले बताए। घाम लागेको मध्यदिउँसो पनि चिसो हुने ठाउँमा बसेर पढ्नुपर्दा विद्यार्थीलाई कष्ट हुने गरेको छ।
पहिराले विद्यालयको सात कोठे भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाइएको भए पनि तीन महिनासम्म पहल नभएको प्राधानाध्यापक चन्दको गुनासो छ।
गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको बताएका छन्। गाउँपालिका उपाध्यक्ष वीना भट्टले विद्यालय पुनः निर्माणका लागि पहल भइरहेको र छिट्टै विद्यालय भवन निर्माण थालिने बताइन्।
‘विद्यालय भवन भत्किँदा समस्या भएकोबारे हामीलाई जानकारी आएको छ, गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र सङ्घ सरकारसँग माग गरेका छौँ,’ उनले भनिन्। यस्तै शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराएको बताए।