सदन सञ्चालनमा सहयोग गर्न एमालेलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र कोरा सिद्धान्त मात्र नभएर पारदर्शी प्रक्रिया पनि भएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख सापकोटाले लोकतन्त्रको प्रक्रियाले समन्यायिक परिणाम दिनुपर्ने भन्दै संसद् त्यसको अभ्यास गर्ने उच्चतम थलो रहेको बताए ।

उनले संसद्ले लोकतन्त्रको अभ्यास र परिणाम दिने विषय अनिवार्य रूपमा बुझ्नुपर्ने भन्दै त्यसका लागि सदन सञ्चालनमा सहयोग गर्न आग्रहसमेत गरे ।
‘लोकतन्त्र सिद्धान्त मात्र नभएर पूर्ण पारदर्शी प्रक्रिया र समन्यायिक परिणामको औजार पनि हो,’ उनले भने, ‘यस सिद्धान्तलाई लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलोको रूपमा रहेको संघीय संसद्ले अनिवार्य रूपमा बुझ्नुपर्दछ ।’

बिज्ञापन

उनले परिस्थिति र परिवेश सधैँ एकै नरहने भन्दै समसामयिक रूपमा परिस्थितिअनुकूल र राष्ट्रिय हितलाई ध्यानमा राखी संसद्ले कार्यसम्पादन गर्नुपर्ने बताए ।
“परिस्थिति र परिवेश सधैँ एकै रहँदैन ।

समसामयिक रूपमा परिस्थितिअनुकूल काम गर्नु र सरकारलाई गर्न लगाउनु सदनको कर्तव्य हो,” सभामुख सापकोटाले भने, “उल्लेखित विषयवस्तु मनन गर्दै सहज सभा सञ्चालनमा सहयोग गर्न सम्पूर्ण माननीयज्यूहरूको ध्यानाकर्षण गराउँछु ।”

सभामुख सापकोटाले यसो भनिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरू भने वेल घेरेर नाराबाजी गरिरहेका थिए । केही समययता एमाले सांसदले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।