न्याय सेवा आयोगको बैठक आज, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि जबरासँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्।

जबराले आज दिउँसो ३ बजे बस्ने गरी न्याय सेवा आयोगको बैठक बोलाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए। बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन तथा अन्तरवार्ताको मिति तोक्ने उनले जानकारी दिए । न्याय सेवा आयोगले गएको साउन १९ गते विज्ञापन गरेर १८ जना जिल्ला न्यायाधीशको माग गरेको थियो । जसमा आन्तरिक खुलातर्फ ९ जना, खुला प्रतिस्पर्धाबाट ५ जना, महिलाबाट २ जना, जनजाति र मधेशी समुदायबाट एक एकजना गरी कुल १८ जना माग गरेको थियो ।

बिज्ञापन

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ। नेपाल बार एसोसियसनले सर्वोच्च परिसरमै धर्ना दिएर राजीनामा माग गरिरहेको समयमा जबराले वरिष्ठ न्यायाधीश, कानुनमन्त्री, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष सहभागी हुने न्याय सेवा आयोगको बैठक बोलाएका हुन्।

आयोगले बैठक डाके पनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती उपस्थित हुने कि नहुने भन्ने अन्योलका कारण आयोगको बैठक पनि अन्योल बनेको छ ।