जङ्गली हात्तीले छ दिनमा २८ घर भत्कायो

सिन्धुलीमाढी – सिन्धुली जिल्लाको दुधौली नगरपालिका–११, डुडेगैरीमा सोमबार राति जङ्गली हात्तीले थप चार घर भत्काएको छ ।

यो सहित उक्त वडामा छ दिनभित्र जङ्गली हात्तीले २८ घर भत्काइसकेको स्थानीयले जनाएका छन् । वडा नं. ११ का वडाध्यक्ष कुमार लामाका अनुसार सोमबार राति तीनवटा जङ्गली हात्तीले डुडेगैरीको मुसहर समुदायका चार घर भत्काउनुका साथै अन्न र फलफूलसमेत नष्ट गरे ।

बिज्ञापन

स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको घर भत्काएको वडाध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार मध्य रातमा हात्ती बस्तीमा छिरेपछि स्थानीयको भागाभाग भएको थियो । योसमेत माथिल्लो पत्रिङ्गा र डुडेगैरीमा गरी हात्तीले आक्रमण गरी २८ घर भत्काएको छ । जङ्गली हात्तीले घर भत्काएपछि पीडित परिवारको विचल्ली भएको छ ।

यसअघि सुरुमा घर भत्काएका १८ परिवारलाई शनिबार जिल्ला रेडक्रस शाखाले त्रिपाल, लत्ता कपडा, भाडा र दुधौली नगरपालिकाले खाद्यान्न सहयोग गरेको वडाध्यक्ष लामाले सुनाए ।   स्थानीयका अनुसार बाँकी पीडित परिवार छिमेकीको घरमा शरण लिएका बसेका छन् । जङ्गली हात्ती नजिकैको जङ्गलमा रहेकाले अहिले पनि स्थानीयवासी त्रासमा रातभर जाग्राम बसेका छन् ।

जङ्गली हात्तीबाट पीडित बुधेश्वर सदा स्थानीयवासी एक ठाउँमा जम्मा भएर रातभरि धुनी तापेर बस्ने गरेको बताउनुहुन्छ । हात्तीको समूहले बस्तीमा पसेर घर भत्काउनुका साथै भण्डारण गरी राखेको धानलगायत अन्नबाली नष्ट गरेको उनले बताए ।

विशेष गरी हात्तीले रातको समयमा दुःख दिने गरेकाले निद्रा माया मारेर रातभर जाग्राम बस्न बाध्य भएकोे स्थानीयवासीको भनाइ छ । हात्ती बस्तीमा आएपछि स्थानीयले थाल ठटाएर र धुनी बालेर हात्तीलाई धपाउने गरेका छन् ।

स्थानीयका अनुसार हात्तीले कृष्ण कुमार, रानीवती धामी, पदमबहादुर परियार, इनर धामी, नथुनी धामी, दीपक परियार, टेकबहादुर दमाई, टङ्के दमाई र मेघबहादुर परियारलगायतको घर तथा अन्नबालीमा क्षति पु¥याएको छ ।

हात्तीले घरको बार भत्काउनुका साथै ढुकुटीमा राखेको धान, मकै सबै सखाप पारेको छ । हात्तीको आक्रमणबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।