
बैतडी । सामूहिक रूपमा उत्पादन गरेको तरकारी चार घण्टा पैदल हिँडेर विक्री गर्नुपर्ने बाध्यता छ, बैतडीको गुरुखोलास्थित मुडाप गाउँका महिलालाई । तरकारीको बजार मूल्य निर्धारण नहुँदा बिचौलियाका कारण महिला किसानले मेहनतअनुसारको मूल्यसमेत नपाएको गुनासो गरेका छन् ।

दशरथचन्द नगरपालिका–१ गुरुखोलाको मुडाप गाउँबाट पैदल हिँडेर दशरथचन्द नगरपालिका–४, स्थित बैतडी सदरमुकाम पुग्दा नाम्लोले टाउकोमा डाम परेको देखाउँदै अगुवा कृषक मानमति भाटले गाउँमा डोजरले सडक खन्दा निकै खुशी भएकाे बताइन् ।



सडकको नाम पनि ग्रामिण कृषि सडक थियो । अहिले ग्रामिण सडकमै डोको बोकेर हिँड्नु परेको छ । गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, नत तरकारीको मूल्य नै निर्धारण भएको छ ।

यसमा उनी गुनासो पोख्छिन् । चिसो मौसममा विहानै डोकाको भारी बोकेर तुसारोमा हिँड्दा महिला किसानका खुट्टाका पाइताला समेत फुट्ने गरेको महिला किसानको गुनासो छ ।
गाउँमा सडक पुगेपछि किसान खुशी हुनुपर्नेमा बैतडीका किसान झन् दुःखी बनेका अगुवा महिला किसान धाना भाटले बताइन् ।
तरकारी सङ्कलन केन्द्र र ढुवानी गर्ने साधनको माग जायज भए पनि नगरपालिकासित पर्याप्त श्रोत नभएको दशरथ चन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्माले बताए ।