
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले यो महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्। महामन्त्री पदका उम्मेदवार रिजालले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन्। तर उनले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताए।

कांग्रेसमा अहिलेको नेतृत्व परिवर्तन भए नयाँ अनुहार लिएर चुनावमा जान पार्टीलाई सहज हुने उनले जिकिर गरे। ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर रहनुहुन्छ। चुनाव देउवा नै प्रधानमन्त्री रहेर गर्ने हो’, शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै नेता रिजालले भने। उनले अहिले कै नेतृत्व लिएर पार्टी चुनावमा जादा बहुमत नआउने हो कि भन्ने चिन्ता रहेको बताए। ‘अहिलेको नेतृत्व/अनुहार लिएर चुनावमा जाँदा जनताले पत्याउँदैनन् कि भन्ने छ,’ उनले भने। उनले आफू महामन्त्री उम्मेदवार रहे पनि कुन टिमबाट भन्ने खुलाएनन्। ‘सभापति नै तय भएको छैन। म कहाँ उठ्ने सिट खोजिरहेको छु,’ उनको भने।



भोलि उम्मेदवारको मनोनयन दर्ता छ। रिजालले महामन्त्री पदका उम्मेदवार दिने तयारी गरेका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा छन्। यो समूहले सर्वसम्मत सभापति उम्मेदवार खोज्न सकेको छैन। सभापति कसलाई बनाउने भन्ने अझै छलफल जारी रहेको रिजालले बताए । सभापतिमा संस्थापन इतर समूहबाट रामचन्द्र पौडेललाई नै सभापति बनाउन सकिन्छ कि, भनेर राती १२ बजेसम्म पनि प्रयास गरेको उनले जानकारी दिए। ‘अझै मिलेको छैन। आज पनि छलफल जारी छ। आज बेलुकीसम्म सर्वसम्मत उम्मेदवार बन्नसक्छ’, उनले भने।

सभापतिको टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको उनले गुनासो गरे । ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन, उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’ पौडेल समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा अडान छोडेका छैनन् । संस्थापन समूहबाट भने शेरबहादुर देउवा फेरि पनि सभापतिमा दोहोरिने तयारी गरेका छन् ।