एमाले अध्यक्षका लागि ओली र रावलबीच आज चुनाव हुने

चितवन : चितवनको सौराहाामा जारी नेकपा एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच भिडन्त हुने भएको हो । उपाध्यक्षमा बस्न बन्दसत्रको हलबाटै ओलीले गरेको आग्रह रावलले अस्वीकार गरेका थिए । उनले अध्यक्षमा उम्मेदवारी दिन मनोनयन दर्ता फारम भरेका छन् ।

निर्वाचनको बाँकी प्रक्रिया आज सुरु हुँदैछ । आइतवार मध्यराति महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् । ओलीले आफूलाई अध्यक्षमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरे पनि भीम रावलले असमति जनाएपछि अन्ततः चुनाव हुने भएको हो।

बिज्ञापन

ओलीले आइतबार मध्यराति ३०१ जना केन्द्रीय सदस्य र १९ पदाधिकारीको नाम बन्दसत्र हलमा पेस गरेका हुन्। तर रावलले चुनाव नै लड्ने अडान लिएपछि ओलीले चुनावी प्रक्रियाका लागि पनि बाटो खुला गरेका हुन्। रावलले अडान नछाडेपछि हलमा एकछिन होहल्ला र रावलविरुद्ध नाराबाजी भएको थियो। तर ओलीले शान्त रहन आग्रह गर्दै भने, ‘भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ।’

त्यसपछि आज बिहानका लागि चुनावको कार्यक्रम तय गरिएको हो। एमाले निर्वाचन अयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार आज बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित नै भएको छ भने अन्य पदाधिकारी तथा सदस्यमा पनि अध्यक्ष ओलीले पेस गरेका नामभन्दा अन्यले उम्मेदवारी दिए निर्वाचन हुनेछ।