५ जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस, झापाका कुमार रेग्मी र हरि फुयाल पनि परे

 

 

बिज्ञापन

चैत १९ – न्याय परिषदले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

 

मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना तथा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो बैठकले वरिष्ठ अधिवक्ता कुमार रेग्मी (झापा),अधिवक्ता हरि फुयाँल (झापा) र अधिवक्ता मनोजकुमार शर्मा (काठमाण्डौ)लाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

रेग्मी नेपाली कांग्रेस र फुयाँल तत्कालीन नेकपा एमाले र अहिले नेकपा निकट हुनुहुन्छ।फुयाँल यसअघि महान्यायाधीवक्तासमेत बन्नुभएको थियो।न्याय परिषदले विभिन्न उच्च अदालतमा पनि न्यायाधीश नियुक्त गरेको छ।

 

न्याय क्षेत्रका विशिष्ट श्रेणीका कर्मचारीबाट नायब महान्यायाधिवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत पाटनको हेटौँडा इजलास र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव,रमेश ढकाललाई उच्च अदालत जनकपुरको न्यायाधीसका लागि सिफारिस गरिएको न्याय परिषदले जनाएको छ।यस्तै साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश निलम पौडेललाई उच्च अदालत जनकपुरको राजविराज इजलासका लागि सिफारिस गरिएको छ।

 

यस्तै,हाल काजमा गोरखा जिल्ला अदालतमा रहेका सर्लाहीका जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेलाई उच्च अदालत सुर्खेतमा,रौतहटका जिल्ला न्यायाधीश लेखनाथ ढकाललाई उच्च अदालत जनकपुरको राजविराज इजलासका लागि,चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई पाटन उच्च अदालत,भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनेद आजादलाई उच्च अदालत विराटनगर,जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीलाई जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका लागि, पर्साका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णलाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा सिफारिस गरिएको परिषदले जनाएको छ।

 

न्यायपरिषदको बैठकले अधिवक्ताहरु जगतबहादुर थापालाई पाटन उच्च अदालत,सरलाकुमारी पाण्डेलाई पाटन उच्च अदालतमा,विमल सुवेदीलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका लागि,रेणुका शाहलाई उच्च अदालत विराटनगरमा,डालकुमार,खड्कालाई उच्च अदालत पोखरामा,उज्वल सुक्ललाई उच्च अदालत जनकपुरमा र नवराज थपलियालाई उच्च अदालत दिपायलको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ।यसैगरी २०७६ साल वैशाख ३ गतेदेखि रिक्त हुने विराटनगर उच्च अदालतमा अधिवक्ता अञ्जु उप्रेती ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको न्यायपरिषदले जनाएको छ।।