
पाेखरा। बिग्रिएको विद्युत लाइन बनाउन गइरहेका विद्युतका प्राविधिक (लाइनम्यान)ले मोटरसाइकल चलाउने क्रममा ट्राफिक नियम तोडेको भन्दै ट्राफिक पुलिले उनलाई जरिवाना तिराए र यातायात नियमको पाठ पढाए । त्यसपछि ट्राफिक पोस्टका इन्चार्जले पनि विद्युतका इन्जिनियरलाई फोन गरेर नियमको पाठ पढाए ।




यसबाट आक्रोशित लाइनम्यानले लामो समयदेखि विद्युत महसुल तिर्न बाँकी रहेको प्रहरी चौकीको लाइन काटिदिए र चौकी इन्चार्जलाई विद्युतको नियमको पाठ पढाए ।

करिब अढाइ घण्टा चौकीको विद्युत आपूर्ति बन्द भयो । मंगलबार भारतको उत्तर प्रदेशको फिरोजाबादमा ट्राफिक चेकिङ भइरहेको थियो । त्यही बाटो लाइनम्यान श्रीनिवास बिग्रिएको विद्युत बनाउन जाँदै थिए । ट्राफिकले उनलाई रोके र हेल्मेट नलगाएको भन्दै जरिवाना तिराए ।
लाइनम्यानले आफू बिग्रेको विद्युत बनाउन जान लागेको भन्दै आफ्ना इन्जिनियरलाई फोन गरेर ट्राफिकँग कुरा गराए । तर, ट्राफिकले उल्टै इन्जिनियरलाई नै ट्राफिक नियमको पाठ पढाए । जरिवाना तिरेको कुरा लाइनम्यानले विद्युत विभागका उच्च अधिकारीहरुलाई बताए ।
त्यसपछि विद्युत विभागले प्रहरी चौकीकै हुर्मत लियो । चौकीले ६ लाख ६२ हजार ४६३ रुपैयाँ विद्युत महसुल तिर्न बाँकी थियो । लाइनम्यानले पनि समयमा महसुल नतिर्नेमाथि कारवाहीस्वरुप चौकीको लाइन काटिदिए । जसका कारण रातको समयमा त्यहाँ काम ठप्प भयो ।