बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

काठमाडौँ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् । असोज २५ गते बोलाइएको बैठकमा प्रस्ताव पेश भए पनि आज उनले विश्वासको मत नलिने बागमती प्रदेशसभाका नेकपा एमालेका सांसद अरुण नेपालले जानकारी दिए ।

सरकारले गरेका कामकाबारे आज संसदलाई जानकारी दिने र त्यसपछि दलका नेताहरु र सांसदले आफ्नो धारणा राख्ने बताइएको छ । सांसद नेपालले आफूहरुले विश्वासको मत लिने विषयलाई लम्ब्याउन नखोजेका भन्दै पार्टीको ६ र ९ गते देशभर एकै साथ हुने वडा र इलाका अधिवेशनका कारणले केही ढिलाइ हुन गएको बताए ।

बिज्ञापन

उनले संविधान र कानुन अनुसार सरकारले विश्वासको मत लिने र त्यसमा कुनै अन्यथा नहुने बताए । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आजका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक ११ गतेसम्म सार्नका लागि अनुरोध गर्दै पत्राचारसमेत गरेको थियो । तर, संसद सचिवालयले बैठक नसारेपछि आज बैठक बस्न लागेको हो ।

बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ । हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन् । उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ । तीन मत रहेको विवेकशील साझा पार्टीले पनि शाक्यलाई विश्वासको मत नदिने यसअघि नै घोषणा गरेको थियो ।