देउवा खराब थिए, खराब नै रहने पक्का भयो : संविधानविद् आचार्य

काठमाडौँ : संविधानविद् भीमार्जुन आचार्यले मन्त्रिपरिषद् विस्तारका क्रममा भएको विवादित विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘परमादेश’सँग मन्त्री पद साटेको आरोपसमेत लगाएका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिरिषद् विस्तार गर्दै प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि संविधानविद् आचार्यले पनि आलोचना गरेका हुन् । ‘देउवा खराब थिए, खराबै रहने पक्का भयो । ‘परमादेश’सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो ।

बिज्ञापन

जसरी गरेका हुन्, गरेकै देखियो’, संविधानविद् आचार्यले शनिबार बिहान सामाजिक सञ्जालमा भनेका छन्, ‘तर इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन । के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन?’

उनले शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तार घटना दुःखद र आपत्तिजनक रहेको बताएका छन् । ‘तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठीक थियो भन्ने कदापि होइन ।’ प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश राणाको भाग स्वरुप उनका जेठान गैरसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।