
काठमाडौँ : चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा प्रवेश गरेको छ। आज भएको इपिएलको पहिलो क्वालिफायरमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पाखा लगाएको हो । यो जितसँगै चितवन पहिलो पटक फाइनलमा पुगेको प्रवेश गरेको छ । जितको लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।

चितवनका ओपनर मोहम्मद शाहजादले २६ बलमा ७ चौका र २ छक्का सहित ४८ रनम बनाए । शाहजाद नन्दन यादवको बलमा आउट भएका थिए। हासिम अन्सारीले १४ रनमा अविजित रहे भने करिम जन्नत ४ रनमा अविजित रहे। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो। पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखराका यो स्कोर ईपीएल इतिहासकै सर्वाधिक कम योगफल हो ।



चितवनका सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। साहब आलमले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए। करिम जन्नत र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो। अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ। पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ । बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली बीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
