परराष्ट्रमन्त्री खड्काद्वारा राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन

काठमाडौँ : परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा उनले सार्क राष्ट्र अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक मामिला भएको बताए ।

मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि उल्लेख गरे । यद्यपि उनले आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएकोमा जोड दिदै नेपालले त्यसको विरोध गरिरहेको बताए ।

बिज्ञापन

सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा प्रकाश पारेका थिए। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक-सामाजिक असर पारेको बताए।

‘मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्छ,’ मन्त्री खड्काले भने। कोभिड नियन्त्रणमा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायका प्रयासको प्रशंसा गर्दै मन्त्री खड्काले सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान तरिकाले खोप पाउनु पर्ने कुरामा जोड दिए। नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री खड्काले सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको बताए ।

ग्रिन हाउस ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका रहे पनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहनु परेको उनले बताए। परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा छन्।