उपमहानगरपालिकाले साढे १० करोड रुपैयाँ लगाएर कान्ति तालको पुनर्निर्माण

बाँके : नेपालगञ्जस्थित कान्ति तालको पुनर्निर्माणपछि आन्तरिक पर्यटन प्रवद्र्धन हुन थालेको छ। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनर्निर्माणपछि घुम्न आउने सर्वसाधारणको भीड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले बताए।
वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गरेपछि अहिले नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट कान्ति ताल घुम्न आउनेको संख्या बढ्दो रहेको उनले बताए।

उपमहानगरपालिकाले साढे १० करोड रुपैयाँ लगाएर कान्ति तालको पुनर्निर्माण तथा वरिपरिको क्षेत्रमा हराभरा गराउँदै छ। बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन्। ताल बिहान र साँझपख स्थानीयवासीको घुमघाम गर्ने रमणीय स्थान बनेको स्थानीयवासी सिर्जना थापाले बताइन्। धेरैजसो युवायुवती तालमा घुम्ने, तस्वीर खिचेर रमाइलो गर्ने गरेको उनको भनाइ छ।

बिज्ञापन

नेपालगञ्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन्। तालमा अहिले टिकटक बनाउने र फोटो खिचाउनेको लर्को लाग्ने गरेको थापाले बताइन्। सो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ।

तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएको उपहानगरपालिकाका इञ्जिनियर सुरज शर्माले बताए। उनका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदै छ।