
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर कोलकाता नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको छ। युएईको अबुधाबी क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा बैंगलोरमाथि कोलकाता हाबी भएको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले १९ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो। ९३ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमै १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। कोलकाताका लागि ओपनर शुबमन गिलले ४८ रन जोडे। उनले ३४ बलको सामना गर्दै १ छक्का र ६ चौका हिर्काए। त्यस्तै भेंकटेश आयरले ४१ रन बनाए। तेस्रो क्रममा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले भने कुनै पनि बलको सामना गरेनन्। बैंगलोरका लागि एक मात्र विकेट युजुवेन्द्र चाहलले लिए।



यसअघि ब्याटिङ गरेको बैंगलोरका लागि देवदत्त पडिकालले २२, विकेटकिपर श्रीकर भरतले १६ रन बनाए। त्यस्तै हर्ष पटेलले १२ तथा ग्लेन म्याक्सवेलले १० रन बनाउनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कप्तान विराट कोहली ५ रनमै एलबीडब्लू धरापमा परेका थिए।

कोलकातालाई शानदार जित दिलाउन वरुण चक्रवर्ती र आन्द्रे रसेलले धारिलो बलिङ गर्दै समान ३/३ विकेट लिए। ३ ओभर बलिङ गरेका रसेलले ९ रन खर्चिए भने वरुणले ४ ओभरमा १३ रन खर्चिएका थिए। त्यस्तै लकी फर्गुसनले २ विकेट हात पारेका थिए।
कोरोना महामारीका कारण स्थगित आईपीएलका बाँकी खेल आइतबारदेखि युएईमा सुरु भएको हो। आइतबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको थियो।
मंगलबारको खेल पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच हुनेछ। खेल नेपाली समयअनुसार दुबईमा ७:४५ बजे सुरु हुनेछ।
कोहलीले कप्तानी छाड्ने
भारतीय टोलीका कप्तानसमेत रहेका विरोट कोहलीले यस सिजनपछि बैंगलोरको कप्तानी छाड्ने भएका छन्। २०१३ देखि बैंग्लोरको कप्तानी सम्मालिरहेका कोहलीले २०२१ सिजनपछि टोलीको कप्तानको जिम्मेवारीमा नरहने घोषणा गरेका हुन्।