
काठमाडौँ : कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परिक्षा आजदेखि सुरु हुँदै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित १२ को वार्षिक परीक्षा आजदेखि सुरु राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा असोज ८ गतेसम्म चल्नेछ। बोर्डको (कक्षा ११ र १२ हेर्ने )परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र संक्रमण विस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको बताए।

परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको उनको भनाइ छ। यस पटक कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको छ। यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको शर्माले बताए। विद्यार्थीको उत्तरपुस्तिका संकलन गरी बोर्डले नै परीक्षण गर्ने परीक्षा नियन्त्रक शर्माको भनाइ छ। गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमै गर्ने व्यवस्था मिलाइएको थियो ।



शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ। आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक शर्माले बताए। यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो।
