
झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको सङ्क्रमण देखिएको थिएन ।



स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । दक्षिणी इलामको रोङ गाउँपालिका–४ निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए । उनको निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको इलाम जिसस प्रमुख बरालले बताए ।
