
अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिहरू सहित प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रुपमा कारोबार गरिरहेको भन्ने उजुरी पछि प्रहरीले उक्त औषधिहरू बिना लाइसेन्स विक्री गरिरहेको अवस्थामा प्रवललाई फेला पारी पक्राउ गरेको हो ।



प्रवलले भारतमा रहेका आफन्त मार्फत उक्त औषधिहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।