उपत्यकाको फोहोर व्यवस्थापनका लागि महानगरले लियो प्रधानन्त्रीको साहारा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोटको सिसडोल पुग्ने बाटो तत्काल मर्मत गर्न सडक विभागलाई निर्देशन दिएका छन् । फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएपछि टेलिनफोन गरेर सडक विभागलाई उनले निर्देशन दिएका हुन् ।

देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए ।

बिज्ञापन

‘सिसडोलसम्म फोहोर बोकेका गाडी पु¥याउन सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौं । उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भने ।

मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताएका छन् ।

शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

वञ्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको विषयमा शाक्यले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र दिएका थिए । काठमाडौँ उपत्यकाको फोहोर अहिले सडकमा जताततै थुपारिएका छन्, जसकारण वातावारण नै दुर्गन्धित भइ नाक–मुख छापेर डिँड्डुल गर्नुपर्ने अवस्था छ ।