पूर्व गृहमन्त्री रामबहादुरका थापा भाइ जेलबाट छुटे

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइँला भाइ नरेश थापा अदालतले तोकेको सजाय पूरा गरेपछि जेलबाट रिहा भएका डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीले बताए । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समीरमानसिंह बस्नेतसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

बिज्ञापन

२०७६ असोज १ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन् । केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो ।