टोकियो ओलम्पिक आज सकिँदै

काठमाडौं : जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ आजबाट सकिदैछ ।टोकियोमा एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन हुनेछ ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । ओलम्पिकको समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ । ओलम्पिकको अन्तिम दिनको खेल चलिरहदा पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ ।

बिज्ञापन

चीनलाई अमेरिकाले पछ्याईरहेको छ । आइतबार बिहानसम्म चीनले ३८ स्वर्ण पदकसहित कुल ८७ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण पदकसहित कुल १०८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित कुल ५६ पदक जितेको छ । त्यस्तै ग्रेट ब्रिटेन २१ स्वर्णसहित ६४ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित कुल ६९ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदाझै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो। सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए ।