
कैलाली : टीकापुर नगरपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अद्यावधिक गर्न थालेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्न वडावडामा अद्यावधिक र नवीकरण शिविर शुरु गरेको छ ।

नगरपालिकाले पटकपटक सूचना गरी दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्न आग्रह गरे पनि कार्यान्वयन नभएकाले गाउँमै गएर शिविर गर्न थालेको हो । नगरपालिकामा सामाजिक सुरक्षा भत्तामा पेन्सन सुविधा लिइरहेका वा अन्य पदमा रहेकाहरु समेत समेटिएकाले उनीहरुलाई रोक्न शिविर गर्न थालिएको हो ।



“विगतमा सामाजिक सुरक्षा भत्तामा समेटिएकाहरुका नाम र उमेर मात्र हामीसँग छन्, उनीहरुका नागरिकता, आवश्यक कागजात पनि सङ्कलन गर्न थालेका छौँ,” सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा एकाइ समन्वय समितिका प्रमुख चेतबहादुर बोहराले भने, “कागजात नपुगेकाहरुका कागजात सङ्कलन र विवरण अद्यावधिक गर्न थालेका छौँ, भत्ता लिने लाभग्राहीलाई नवीकरणका लागि अनिवार्य सहभागी हुन भनेका छौँ ।”

बोहरा यसले लामो समयदेखि भत्ता खाइरहेकाहरुको विवरण सही आउने र गलत तवरले सेवा लिनेहरुको लगत कट्टामा सहयोग पुग्ने बताउँछन् । “हामीले सूचना गरेर सेवाग्राहीले टेरेनन्, अब यसरी अनिवार्य अद्यावधिक गर्न भनेपछि गलत कागजात वा दोहोरो सेवा लिनेहरु आउने छैनन्”, उनी भन्छन्, “यसअघिका कतिपय लगतहरुमा तीन पुस्ते कायम नगरिएको, दोहोरो दर्ता भएका, मृत्युपश्चात् लगत कट्टा नभएका लगायतका समस्यालाई समाधान गर्न सहयोग पुग्छ ।” नौ वडा रहेको नगरपालिकाका १४ स्थानमा अद्यावधिक शिविर आयोजना भइरहेको छ ।
लाभग्राहीलाई आवतजावतमा सहज होस् भनी नगरपालिकाले गाउँगाउँमा जनशक्तिसहित शिविर गरिरहेको हो । गाउँमै नवीकरण तथा नपुगेका कागजात अद्यावधिक गर्न पाएपछि स्थानीयवासी समेत खुशी छन् । टीकापुर–४ की मालतीदेवी थापा विगतमा हरेक वर्ष नवीकरणका लागि टीकापुर बजारमा रहेको कार्यालयमा आउँथिन् । “यस वर्ष गाउँमै कागजात बुझाएँ”, थापाले भनिन्, “सजिलो भयो, अझ ज्येष्ठ नागरिकलाई सेवा लिन धेरै टाढा जानु परेन, सबैले गाउँमै नवीकरण गराउन पाए ।”