
काठमाडौ । नेपाली कांग्रेसले अविरल बर्षका कारण पीडित बनेका नागरिकको उद्धारमा जुट्न कार्यकर्तालाई आव्हान गरेको छ ।




कांग्रेस सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी जारी केन्द्रीय समिति बैठक स्थगन गरेर सिंगो पार्टीपंक्ति राहत र उद्धारमा जुटिसकेको भन्दै उद्धारमा जुट्न आव्हान गरेका हुन् ।

‘केही दिन यता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले असार २७ गते गहिरो दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँं ।
विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’
देउवाले सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दै प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारी कामको कांग्रेसले अनुगमन समेत गर्ने बताएका छन् ।