
धरान । ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा राजकुमार रौनियार र उनका भतिज डा.रामहरि रौनियारलाई काठमाडौं लगिएको छ ।




बिहीबार प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँसहित रौनियार प्रतिष्ठानको निवासबाट रंगेहात पक्राउ परेका थिए ।

रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक हेम थापाको नेतृत्वमा खटिएको टोलीले सेवाग्राहीबाट घुस रकम लिए लगत्तै पक्राउ गरेको थियो ।
रौनियारलाई टोलीले शुक्रबार बिहानै गाडीमा राखेर काठमाडौं लगिएको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक हेम थापाले बताए ।
रौनियारले प्रतिष्ठानमा निर्माण र विभिन्न उपकरण खरिदमा ठेकेदारसँग रकम माग गरेको उजुरी परेको थियो । उजुरीपछि पीडित पक्षसँग रकम माग गरेको फोन रेर्कड अख्तियारमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीडितलाई ८ लाख रकम दिएर रौनियारलाई पक्राउ गर्न टोली परिचालन गरेको बुझिएको छ ।
रौनयारले प्रतिष्ठानको नेतृत्व राम्रोसँग सम्हाल्न नसकेको भन्दै गत फागुनमा सरकारले पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि रौनियारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश मिरा खड्काको संयुक्त इजलासले अल्पकालिन अन्तरिम आदेश गरेपछि उनी पुर्नवाहली भएका थिए ।