बिरामी बढेसँगै रगतको अभाव

चितवन । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्ध रूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ । सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा रहेका रक्त सङ्कलन केन्द्र, युनिट एवं क्षेत्रिय रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न सबैलाई अपिल गरिएको हो ।

बिज्ञापन

क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्‍याउन नसकिएको बताउनुभयो । केन्द्रमा दैनिक १०० युनिट रगतको माग भइरहेको भए पनि अहिले रगत उपलब्ध गराउन नसकिने अवस्थामा पुगिएको उहाँले बताउनुभयो । कोरोनाका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उहाँको भनाइ छ ।

यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । अहिले स्वयंसेवी रक्तदाता र बिरामीको आफन्तबाट रगतको माग धान्नुपरेको पौडेलले बताउनुभयो । यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै भारतीय सीमा क्षेत्रबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउँछन् ।