मेस्सीक‍ो कीर्तिमानी खेलमा अर्जेन्टिनाको सहज जित

एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले सहज जित दर्ता गरेको छ ।

मङ्गलबार बिहान सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४–१ गोलको जित निकालेको हो ।

बिज्ञापन

ब्राजिलको सियबामा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एलेजान्द्रो डारियो गोमेज र लाउटारो मार्टिनेजले १/१ गोल गरे । बोलिभियाका इर्विन साभेद्राले एक सान्त्वना गोल गरे ।

खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ३३औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै पहिलो हाफभरि अर्जेन्टिनालाई ३–० गोलको अग्रता दिलाए ।

यस्तै दोस्रो हाफको खेलको ६०औं मिनेटमा बोलिभियाका साभेद्रले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्टिनेजले ६५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ४–१ गोलले जिताए ।

उक्त सँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको अर्जेन्टिनाले समूह चरणका चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । उसले १० अंक बनाएको छ ।

मेस्सीको कीर्तिमान

यस खेल खेलेसँगै अर्जेन्टिनी कप्तान मेस्सीले राष्ट्रका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् । मेस्सीले पूर्व–मिडफिल्डर जाभियर मोस्चेरानोको नाममा रहेको १ सय ४७ खेलको कीर्तिमान भङ्ग गर्दैै सो रेकर्ड आफ्नो नाममा सारेका हुन् ।