अदालतमै हिंसाको कुरा हुँदा न्यायाधीश मौन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायाधीहरु मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बालुवाटारमा आयाजित कार्यक्रममा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा गएको र सर्वोच्चमा पनि प्रचण्डपथ पसेको बताए । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् । केही दिनअघि कांग्रेसका प्रदेश सांसदले पनि नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएको प्रसंग उनले निकालेका थिए ।

ओलीले भने, ‘प्रचण्डपथ यति व्याप्त भइसक्यो कि कांग्रेसले यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त नै बनाइसकेको छ । प्रधानमन्त्रीलाई मार्न नाथुराम गोड्से बन्न तयार छु भनेको प्रचण्डपथ नै हो ।’ ओलीले थपे, ‘अहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ । फ्रान्स र बेलायतमा किन काटिँदा रहेछन् त भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले जस्तो गर्दा रहेछन् र पो काटिँदो रहेछन् त भनेर प्रचण्डका एक कार्यकर्ताले बहस गरे । भनेको मतलब अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’

बिज्ञापन

‘आश्चर्य लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । अदालतमा यस्तो कुरा गर्नुहुन्न विद्वान अधिवक्ताज्यू । आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर न्यायमूर्तिले त्यो सुझाव पनि राख्न सक्नुहुन र ?’ ओलीले प्रश्न गरे । वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।ओलीले भने( ‘तपाईंहरूले दुई(तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’