सुधार गृहबाट भागेका चार बालकमध्ये एक पक्राउ

विराटनगर : विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो ।

 

बिज्ञापन

बाल गृहका इन्चार्ज मिलन चौहानका अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बालक पक्राउ परेका हुन् । भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको उनले जानकारी दिए । फरार हुने अरु २ जना जवरजस्ती करणी मुद्दाका कैद सजाय पाएका र एक जना हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि रहेका बालक हुन् ।

 

उनीहरुको खोजी जारी राखिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । सुरक्षा स्रोतका अनुसार शनिबार राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको थिए ।