चीनबाट ८ लाख डोज खोप काठमाण्डौ आइपुगो, एक लाख खोप आजै आउँदै

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसो काठमाण्डौ आइपुगेको छ ।  नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले सवा १ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।

आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

बिज्ञापन

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार चीनले अहिले उपलब्ध  गराएको भेरोसेल खोप उच्च जोखिम समूहमा रहेकालाई उपलब्ध गराइनेछ । ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६५ वर्षमाथि नौ लाखभन्दा बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा छन् ।