

काठमाडौँ- यसअघिका लगानी सम्मेलनमा सुपर म्यानको रुपमा देखिने उद्योगमन्त्री यसपटक भने झण्डै शून्य भूमिकामा देखिए । त्यतिमात्र होइन यो सम्मेलनमा उदोगमन्त्रीलाई मन्त्रीहरुको लहरमा वस्ने ठाउँ समेत पुगेन । सम्मेलनस्थलमा मात्रै होइन, यसपटक सम्मेलन केन्द्रित हरेक गतिविधिमा उद्योग मन्त्रीको अनुहार विरलैमात्र देखियो ।




सम्मेलन उद्घाटनका दिन उद्योगमन्त्री मात्रिका यादव मन्त्रीहरुको लहरमा सिट नपाएपछि अर्कै एक कुनामा बस्न पुगे । उद्घाटन सत्र चलिरहेका बेला मन्त्री यादव आम दर्शकदिर्घामै बसेर स्क्रिनमा उद्घाटनका दृश्य हेर्दै थिए ।
सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा भने उनले आयोजक भएकाले चारैतिर हेर्नुपर्ने भन्दै बाहिर आएर बसेको भने । यद्यपि, असन्तुष्टिको बादल उनको मुहारमा प्रष्टै देख्न सकिन्थ्यो । व्यवस्थापकीय कमजोरी हो वा उद्योगमन्त्रीलाई महत्व नै नदिएको हो, यसमा आयोजकले केही खुलाएनन् । हेर्दा लाग्थ्यो सम्मेलनमा उद्योगमन्त्रीको भूमिका शून्य छ ।
यसअघिका सम्मेलनको संयोजक नै उद्योगमन्त्री हुने गरेका थिए । दोस्रो लगानी सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशी थिए । त्यसबेला अर्थमन्त्री भन्दा शक्तिशाली ठानिन्थे उद्योगमन्त्री । यसपटक भने विपरित भयो । सम्मेलन आयोजनाका लागि बनेको निर्देशक समितिको संयोजक अर्थमन्त्री युवराज खतिवडा बने ।
नेपाल लगानी बोर्डका सिइओको जतिपनि उद्योगमन्त्रीको भूमिका देखिएन । उद्योग व्यवसायमा उद्योग मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ । ६ अर्बसम्मको लगानी स्वीकृत यहि मन्त्रालय अन्तर्गत हुन्छ । तर आम नजरले भने यसपटकको सम्मेलनमा अर्थमन्त्री हिरो र उद्योगमन्त्री जिरोमा झरेको अनुभव गरेको छ । यद्यपि, सम्मेलनको एउटा सेसनमा भने उनको सहभागिता सुनिश्चित गरिएको कार्यक्रम कार्यतालिकामा देखिएको छ ।
ऐन संशोधनबाट शुरु भयो असन्तुष्टि
औद्योगिक व्यवसाय ऐन–०७४ संशोधन गर्न बनेको विधेयकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उद्योगमन्त्री मात्रिका यावदबीच विवाद भयो । उद्योग मन्त्रालयले तयार पारेको विधयेकलाई मन्त्रिपरिषदको पूर्वाधार समितिले हेरफेर गरेर पठाएपछि मन्त्री यादवमा असन्तुष्टि हुने नै भयो ।
ठुला व्यापारीलाई जोगाउने गरी ल्याउन लागेको ऐनप्रति आफ्नो आपत्ति रहेको मन्त्री यादवले बताउँदै आएका छन् । यता, सम्मेलनको अघिल्लो दिन एक कार्यक्रममा पनि प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादववीच घोचपेच नै चलेको थियो ।
विगतलाई हेर्दा…
२०७३ फागुनमा सम्पन्न पहिलो लगानी सम्मेलनमा तत्काली उद्योगमन्त्री नविन्द्रराज जोशी र अर्थमन्त्री डा.रामशरण महत थिए । त्यसबेला उद्योगमन्त्री जोशीले सम्मेलनको अध्यक्षता गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सम्पन्न सो सम्मेलनमा प्रमुख प्रतिपक्षी दल तत्कालीन एमालेका अध्यक्ष केपी ओली अतिथिको रोलक्रममा वायाँ साइडमा थिए ।
त्यस्तै तत्कालीन सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने उद्योगमन्त्री जोशीसँगै साइडमा आसिन थिए । सो समयमा अर्थमन्त्री महतको भन्दा उद्योगमन्त्री जोशीको सक्रियता बढी देखिएको थियो । तर आजको लगानी सम्मेलनमा भने बहालवाला उद्योगमन्त्री यादव अतिथिको रोलक्रममा देखिएनन् ।
उनी मञ्चको अग्रभागमा देखिएनन् मात्र सभाहलनै छाडेर बाहिरिएका थिए । जसको कारण थियो, अतिथि आसनको रोलक्रममा उनलाई मञ्चमा सिट राखिएको थिएन । त्यस्तै सम्मेलनमा आफुलाई उपेक्षित महसुस गरेका मन्त्री यादवले आयोजकले दिएको उपहारसमेत लिन अस्वीकार गरे ।
यस विषयमा मन्त्री यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
साभार: रातोपाटी डटकमबाट