
सल्यान : बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले व्यक्तिगत लगानीमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ६० हजार सर्जिकल मास्क, तीन सय के एन नाइन्टी फाइभ मास्क र एक हजार ७२८ पिस साबुन, स्यानिटाइजर ह्यान्डल स्ट्यान्ड ल्याएका छन् ।

बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मेयर बुढाथोकीले व्यक्तिगत रूपमा किनेर ल्याएका ८ थान ठुला अक्सिजन सिलिन्डर आइसकेका छन् भने १२ वटा आउँदै गरेको बुढाथोकीले जानकारी दिएका छन् । उनी आफूले पाउने तलब व्यक्तिगत रूपमा नलिएर सम्पूर्ण रकम जनताको सेवामा लगाउने पहिले नै उद्घोष गरिसकेका थिए । यसअघि पनि मेयर बुढाथोकीले नगरपालिकाले कोरोना रोकथाम तथा उद्धारको लागि बनाएको कोषमा चार लाख ५० हजार जम्मा गरेका थिए । अहिले खरिद गरिएको सामग्री ६ लाख ६४ हजार बराबरको रहेको छ ।



मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत यस कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई उपलब्ध गराउने मेयर बुढाथोकीले बताएका छन् । बागचौर नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । आइसोलेसन सेन्टरमा एक जना मेडिकल अधिकृत (एमबीबीएस), ४ जना हेल्थ असिस्टेन्ट (एचए), २ जना स्टाफ नर्स, ३ अनमी सहितको स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी सहितको टिम परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
