एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ : नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । नेताहरुको कार्य व्यस्तताका कारण बैठक साँझ ७ बजे बस्नेछ । अर्थमन्त्री विष्णु पौडेल बजेट बनाउन व्यस्त छन् भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बुटवलबाट आउनुपर्ने भएकाले बैठक साँझ मात्रै बस्ने सुवास नेम्वाङले जानकारी दिए ।

हिजोको बैठकले पार्टीमा भ्रम सिर्जना हुने र एक अर्कालाई लक्षित गरेर आलोचना हुने काम नगर्न पार्टीका नेता/कार्यकर्तालाई अनुरोध गरेको थियो । आजको बैठकले भोलि हुने राष्ट्रियसभाको उप–चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउनेछ । पार्टीभित्र अध्यक्ष ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न लागेपछि विवाद मिलाउन कार्यदल बनेको हो ।

बिज्ञापन

माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ ।