
काठमाडौं । ललितपुर टीकाथलीमा ५१ वर्षीय हाजुरबाले आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।




हजुरबाले दाजुसँग सुतिरहेकी बालिकालाई उठाएर आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । यो घटना सोमबार रातिको हो ।

रौतहट चन्द्रनिगाहपुर–१ पौराही घर भएका उनीहरु गत २२ जेठदेखि टीकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए ।
आरोपीका छोरा र बुहारी विदेशमा भएको प्रहरीले बताएको छ । आमाबाबु विदेशमा रहेका कारण नाति नातिनीहरु हजुरबासँग बस्दै आएका छन् ।
नातिनीले आफूलाई हजुरबाले सुतेको अवस्थामा अर्को कोठामा लगेर बलात्कार गरेको भन्दै फुपूसँग गुनासो गरेपछि फुपूमार्फत प्रहरीसमक्ष बलात्कारको जाहेरी परेको थियो ।
त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई पक्राउ गरेको हो ।
वृत्तका डीएसपी गौतम मिश्रले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले घटनामा संलग्नको नाम भने खुलाएको छैन । पीडित नाबालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परीक्षणको काम प्रसूति गृह थापाथलीमा भइरहेको र विस्तृत रिपोर्ट केही दिनमा आउने प्रहरीले बताएको छ ।
आरोपीले आफूले बलात्कार गरेको स्वीकार गरिसकेकाले निजलाई नाबालिकाको बलात्कार र हाडनाता करणी समेत गरी दोहोरो सजायको माग गर्दै आरोपपत्र दर्ता गरिने प्रहरीले जनाएको छ ।