लुम्बिनी प्रदेशसभाको बैठक : मुख्यमन्त्रीको राजीनामापछि कार्यसूची परिवर्तन

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन पूर्वनिर्धारित समयमै आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सचिव दुर्भककुमार पुन मगरले मुख्यमन्त्री राजीनामा दिए पनि बैठक बस्ने तर अविश्वासको प्रस्तावको विषय चाहिँ टुङ्गिएको बताए । उनले आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र सुनाउने कार्यसूची रहेको बताए ।

यस अघि मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची रहेको थियो । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरुले समावेदन गरेका थिए । तर आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि राजनीतिले अर्को मोड लिएको हो ।

बिज्ञापन

आजै एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्व बहुमतको नयाँ सरकार बनाउने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन् । उनले संविधानको धारा १६८ को १ अनुसार बहुमतको सरकार गठन गर्नका लागि राजीनामा आएको बताए ।