कोभिड–१९ रोकथाम र नियन्त्रणमा सघाउन आग्रह प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेस गरेको जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताए । ’बैठकमा संसद्ले जे गर्नु पर्ने थियो त्यो नगरेको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभयो,’ उनले भने ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनी र नेपाल मजद’र किसान पार्टीका नेता प्रेम सुवाल र सुनील प्रजापतिलगायत सहभागी थिए । बैठकमा नेकपा माओवादी केन्द्र भने सहभागी भएन । माओवादी केन्द्रले आफूहरुलाई बैठकबारे खबर नगरिएको बताएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा कोरोना महामारी नियन्त्रणका प्रयास, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल भएको छ ।
मन्त्री ज्ञवालीका अनुसार खुला सीमाका कारण थप कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप सावधानी अपनाउन प्रधानमन्त्रीले राय सुझाव मागेका छन् । छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परे विद्यालय र भीडभाड हुने कार्यक्रम बन्द गर्न नेताहरुले सुझाव दिएका छन् । मन्त्री ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाबारे असन्तुष्टि व्यक्त गरेका छन्। सभामुखले आफ्नो अधिकारभन्दा बाहिर गएर एमसीसीलाई अड्काएको भन्दै प्रधानमन्त्रीले सभामुखविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।
बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण तथा रोकथामका लागि लकडाउन गर्नु नहुने सुझाव दिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार अरु विधिलाई प्रभावकारी बनाउनुपर्ने तर लकडाउनमा जानु नहुने सुझाव प्रधानमन्त्रीलाई कांग्रेसले दिएको हो ।

‘हामीले लकडाउन भन्दा पनि कोरोना रोकथामका अन्य उपायमा जानुप¥यो भनेर सुझाव दिएका छौँ’, बैठकपछि नेता पौडेलले भने, ‘कोरोना रोकथामका विधिमा धान दिनुपर्छ तर, लकडाउन नै गर्नु हुँदैन भनेर सुझाव दिएका छौँ ।’

बिज्ञापन