
प्रकाश चन्दको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय विरामीले सेवा




प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को गाउँ कपिलवस्तुको शिवगढीमा छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय विरामीले सेवा लिएका छन् ।
करीव ७ किलोमिटर परबाट समेत सेवा लिनका लागि स्थानीयहरु शिविरमा आएका थिए ।
कपिलवस्तुस्थित शिवगढी नगरपालिका ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार ७ र ८ गते दुई दिन स्वास्थ्य शिविर चलाएको प्रकाशले बताए ।
करीव ७ किलोमिटर परबाट समेत सेवा लिनका लागि स्थानीयहरु शिविरमा आएका थिए । पानी रुझ्दै र चर्को घाममा उभिएर विरामीहरुले सेवा लिए ।
‘२६ सय जना दुई दिनमा स्वास्थ्य परीक्षणमा आउनु त्यति राम्रो कुरा हैन, स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहेछ’ प्रकाशले भने, ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौं ।’
स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको प्रकाशले बताए ।
शिविरबाट जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाशले बताए ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा विप्लवका छोरा प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको सहभागी थिए ।
पुरानो मेडिकल कलेज भरतपुरबाट १९ जना स्वास्थ्यकर्मी शिविरमा गएका थिए । अर्थोसर्जरी विषयमा चितवन मेडिकल कलेजमा एमबीबीएसको पढाइ सकेका प्रकाश अहिले प्रशिक्षार्थी चिकित्सकका रुपमा काम गरिरहेका छन् ।
यसअघि उनको महँगो बाईकमा चढेको फोटो भाइरल बनेको थियो । अनलाइनखबरबाट