
काठमाडौं : कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै धर्ना दिएका हुन् ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित सात जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।



धर्नामा बसेका थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल थारुले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्न नहुने बताए । ‘हामी पनि यो देशका नागरिक हौं, भूमि पुत्र हौं, हामो मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ झुटा मुद्दा फिर्ता लिनुपर्छ’ उनले भने, ‘जेलमा रहेका रेशम चौधरीसहित सबैलाई रिहा गर्नुपर्छ ।’
