
विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधि चुमेको छ । आइतबारको फाइनलमा झापाको विमान ट्रेडर्स क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमा कब्जा जमाएको हो ।

फाइनलमा आर्मीले विमानविरुद्ध २५-१४, २५-१८ र १५-१२ को सेट आफ्नो पक्षमा पार्योग। विमानले २५-१७ र २५-२२ का पहिला दुई सेट जितेपनि उपविजेतामा चित्त बुझायो । राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका मानबहादुर श्रेष्ठ, हरि अधिकारी, धनबहादुर भट्ट, हरिहजुर थापा र राजेन्द्र विष्टलगायतका खेलाडीले आर्मीको तर्फबाट प्रदर्शन गरे। जितसँगै आर्मीले नगद २ लाख रुपैयाँ पुरस्कार पाएको छ ।



भारतको राष्ट्रिय टिमका खेलाडीहरू प्रिन्स, सुगमलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव गरिसकेका अधिकतर खेलाडी रहेको विमानले उपविजेता हुँदै नगद १ लाख १ हजार रुपैयाँ हात पारेको छ । चैत ४ गते सुरु प्रतियोगितामा ७ टिम सहभागी थिए ।
