बेरुजु फछर्याैटमा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फछ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रशंंसापत्र प्रदान गरेका छन् । सो अवसरमा गृहमन्त्री थापाले पुरस्कृत पदाधिकारीहरुलाई बधाई दिँदै पुरस्कारले थपेको जिम्मेवारी र चुनौतीलाई सहर्ष स्वीकार गरी आगामी दिनमा अझै सक्रिय भई काम गरी सफलता हासिल गर्ने अपेक्षा रहेको बताए ।

गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आव २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । देशको समृद्धि तथा विकास, सुशासन, नागरिकको आकाङ्क्षा र सरकारले आव्हान गरेको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पूरा गर्न लाग्नेतर्फ तत्पर हुनुपर्ने उनले उल्लेख गरे ।

बिज्ञापन

उक्त अवसरमा गृह सचिव महेश्वर न्यौपानेले पुरस्कृत भएपछि जिम्मेवारी थपिएको अन्तरआत्माबाट मनन गरी अझै उत्तरदायी भएर काम गर्ने बताए । बेरुजु फछर्यौटमा अझै समर्पित भएर काम गरी बेलाबेलामा समिक्षा गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्‍यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न नेपाल प्रहरी सफल भएको हो ।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्‍यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।