दाङको लमहीमा आगलागी, ६ घर जलेर नष्ट
दाङ – देउखुरीको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका–६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतको तार सर्ट भएर सुरु भएको आगलागीबाट छ वटा घर जलेर नष्ट भएको जानकारी दिए ।

आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

बिज्ञापन

आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको अनुप बुढा मगरले जानकारी दिए ।आगलागीबाट कति क्षति भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीका घटना हुने गरेका छन् ।