प्रतिगमन नसच्चिए फागुन पहिलो सातादेखि जनआन्दोलन हुन्छ : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न आज (बिहीबार) सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए ।

’हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं । त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ । त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने । उनले भोलि ओली समूहले नारायणहिटी दरबार अगाडि गर्न लागेको सभा पञ्च र्‍याली भएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो । अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ प्रचण्डले भने, ‘हामीले जनआन्दोलन गरिरहेका छौं । उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ ।’ संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताए । प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले ’आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं’ लगायत नारा लगाएका थिए ।