सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित ब्रोइलर कुखुरा भित्र्याउन नेकपाका स्थानीय नेताकै संलग्नता

विराटनगर/ मोरङ र सुनसरीका दक्षिणी सीमावर्ती क्षेत्रबाट दैनिक रूपमा प्रतिबन्धित बोइलर कुखुरा नेपालमा तस्करी भएर आउने गरेको पाईएको छ । सुरक्षा निकायले तस्करी नियन्त्रणमै रहेको बताउने गरेको भएपनि तस्करहरुको सक्रियता भने घटेको छैन । खुला सीमानाको अनुचित फाइदा उठाउँदै भारतबाट अवैध रूपमा तस्करहरूले प्रतिबन्धित ब्रोइलर कुखुरा भित्र्याउन नेकपाका केही नेताको संलग्नतासमेत पाइएको छ । मोरङ प्रहरीले ठूलो परिमाणमा भारतदेखि तस्करी भएको बोइलर कुखुरा मंगलबार बरामद गरेपछि यसको पुष्टि भएको हो । नेकपा कटहरी गाउँपालिकाका अध्यक्ष जीतनारायण सरदारले तस्करी गरि भारतदेखि ल्याएको ठूलो परिमाणको कुखुरा मंगलबार विराटनगरदेखि बरामद भएको छ ।

प्रहरीले भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नंं. को पिकअप भ्यानमा राखी तस्करीको २ लाख २५ हजार मूल्य बराबरको ७ सय ५० केजी कुखुरा प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । उहाँले बरामद भएको कुखुरा नेकपा कटहरीका अध्यक्ष सरदारको रहेको जानकारी दिनुभयो । कटहरी ५ निवासी नेता सरदारका छोरा २८ बर्षीय किरणकुमार सरदारले भारतदेखि तस्करी गरि ल्याउने क्रममा कुखुरा बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।तस्करीको कुखुरा प्रहरीले बरामद गरेपछि छुटाउन नेता जितनारायण जिल्ला प्रहरी आउनु भएको थियो । तर, प्रहरीले तस्करीको कुखुरा नष्ट गरि पक्राउ गरेको सवारी साधनलाई र नेता सरदारका छोरालाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको छ ।

बिज्ञापन

नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु देखिएपछि पशुजन्य वस्तुको आयात रोक्न सीमामा प्रहरीले कडाइ गरेको छ । तर खुल्ला सीमाको फाइदा उठाउँदै तस्करमा लागेका गिरोहले अनेक जुक्ति अपनाएर कुखुरा तस्करी गराउने गरेका हुन । तस्करीको कुखुरा विराटनगरसहित पूर्वको फ्रेश हाउसहरूमा जाने गरेको छ । अहिले भारतको केही राज्यमा बर्डफ्लु देखिएको कारणले त्यहाँ कुुखुरा बिक्रीमा प्रतिबन्ध लगाईएको छ । त्यही भएर तस्करीमा लागेका गिरोहले भारतदेखि सस्तोमा कुखुरा खरिद गरि विराटनगरसहित पूर्वको विभिन्न सहरहरूमा सस्तोमा बिक्री गर्दछन् । जसले गर्दा नेपाली किसानले उत्पादन गरेको कुखुरा नोक्सानी व्यहोरेर सस्तोमा कुखुरा बिक्री गर्न बाध्य छन् ।

सुनसरीको दक्षिणी क्षेत्रदेखि नेपाल भित्रिएको कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरानलगायतका स्थानसम्म पु¥याउने गरिएको छ ।
भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट बोइलर कुखुरा नेपाल भित्रयाउन तस्करहरू सक्रिय रहँदै आएका छन् । नेपालमा २४० देखि ३०० प्रतिकेजी पाइने कुखुराको मासु भारतमा भने नेपाली १४० देखि १६० रुपैयाँ केजीसम्ममा पाइने गरेको छ । सीमावर्ती क्षेत्रबाट तस्करी गरेर ल्याइने ब्रोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटी केही व्यवसायीहरूले मोरङ र सुनसरीका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।प्रहरीको सक्रियता भारतमा बर्डफ्लु पुष्टि भएपछि पछिल्लो समय सीमामा प्रहरीले सक्रियता बढाएसँगै मोरङ र सुनसरीका विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको हो ।

तस्करीमा लागेका गिरोहले विराटनगरको दरैयावस्ती, इस्लामपुर, हुलास चौकको दक्षिण गेट र सुनसरीको श्रीपुर, लाही, भण्टाबारी, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिकमा भारतीय बोइलर कुखुरा भित्रयाउने गरेका छन् ।
केही दिनअघि पनि मोरङ प्रहरीले ठूलो परिमाणमा तस्करीको कुखुरा बरामद गरेको थियो । यस्तै सुनसरी प्रहरीले भारतबाट ल्याइएका ७४ थान बोइलर कुखुरा कोशी गाउँपालिका–८ बाट नियन्त्रणमा लिई नष्ट गरेको छ । सोमबार पनि सुनसरी प्रहरीले १ लाख २० हजार मूल्य बराबरको १४० थान कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

यसरी नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै कुखुराको तस्करी भइरहँदा भारतबाट बर्डफ्लु भित्रिने जोखिम बढेको जानकारहरूले बताएका छन् । अवैध रूपमा नेपाल भित्र्याइने त्यस्ता कुखुरा बरामद गरेर नष्ट गर्नुपर्ने मोरङका कुखुरा व्यवसायीहरूको माग छ । सीमावर्ती क्षेत्रबाट नियमित रूपमा बोइलर कुखुरा अवैध रूपमा भित्रिन थालेपछि आफूहरूको व्यापार चौपट भएको मोरङका कुखुरापालक किसान बलराम थापाको भनाइ छ । भारतबाट अवैध रूपमा भित्रिने बोइलर कुखुराको तस्करी रोक्न उनीहरूले माग गर्दै आएका छन् ।