
चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरे । ‘साना साना समूहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले विश्वलाई केवल विभाजनतर्फ लैजान्छ’-उनले भनेका छन् ।

सोमबार डाभोस फोरमको भर्चुअल सम्मेलनमा उनले यस्तो बताए । अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोगी मुलुकहरुसँग मिलेर चीनको प्रभाव रोक्ने योजनातर्फ संकेत गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो बताएका हुन् ।



उक्त सम्मेलनमा बाइडन भने सहभागी थिएनन् । व्यस्तताको कारण बाइडनको सट्टा अमेरिकी प्रतिनिधिको रुपमा जलवायुदूत जोन केरीले सहभागिता जनाएका थिए । डाभोस फोरममा करिब २५ मिनेट बोलेका चिनफिङले विश्वको अर्थतन्त्रलाई खुला बनाउनुपर्ने बताए ।

त्यसका लागि भेदभाव र बहिष्कारपूर्ण मापदण्ड, नियम र प्रणाली हटाइनुपर्ने बताए । साथै व्यापार, लगानी र प्रविधिको आदानप्रदानबारे रहेका अवरोधहरु हटाइनुपर्ने बताए । डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाको चीनसँग व्यापार, प्रविधिदेखि हङकङ, ताइवान, सिन्चियाङ र कोरोनाबाट विवाद देखिएको थियो ।