‘गुजाराको बिमा’

कुनै नमीठो सपनाले झस्काएजस्तो
सखारै अर्लामले झस्काउँछ

सुरु हुन्छ मेरो सस्तो जिन्दगीको
अत्यन्तै महङ्गो सेड्युल

आमाले
दूध किनेर चिया बनाएजस्तै
बा’ले आफ्ना पसिना बेचेर
केही पैसा किन्नुभएको छ
र त्यो पैसा
विश्वविद्यालयको खातामा जम्मा गरेर
बा ढुक्क हुनुहुन्छ
जसरी ढुक्क हुन्छन्
मृत्युसँगको एग्रिमेन्टमा सहिछाप लगाएर
जीवनबिमा गर्नेहरु

बिज्ञापन


बा’को त्यो ढुक्कलाई ढुक्क सावित गर्न
हरदिन दौडिन्छु
कर्णालीजस्तो ला~मो समस्याहरुको म्याराथन

म आमाको दूधको सम्मान राख्न
सगौरव चढिदिन्छु
अक्षरहरुको सगरमाथा

तर सरकार
जिन्दगीको लम्बेतान् सफरमा
समय कति छिट्टै सकिएछ

अब आमाले
मेरो हातमा दूधको गिलास थमाउनुहुन्न
कारण,आजभोली
बा’को पसिना पहिलेजस्तो बिक्दै बिक्दैन

म पढन्दास
कक्षामा सधैं प्रथम भएजस्तै
शिक्षित बेरोजगारको अग्रपङ्तिमा
आफ्नो नाउँ लेखाएर

दौडिरहेको छु
दौडिरहेको छु
किताबको पन्नाभित्र कतै अल्मलिएको
मेरो गुजाराको मेसो खोज्न..

जीवनको बिमा गरेजस्तो
दैनिक गुजाराको बिमा कहाँ गरिन्छ हँ?

✍️ एलिशा एकलास
सेसमति, काठमाडौं ।