
हुम्ला : हुम्लामा आइतबार साँझदेखि भारी हिमपात भएको छ । हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् ।

पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् । यता जल तथा पूर्वानुमान महाशाखाले सोमबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।



यसैबीच हिउँदे वर्षाले चिसोसमेत बढाएको छ । चिसो बढेसँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद्ले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
