राजनीतिक घटनाक्रमले उखु किसानको मुद्दा छायाँमा

काठमाडौं : रकम भुक्तानीको माग गर्दै आन्दोलनरत उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै गत मंसिर २८ गतेदेखि उखु किसान आन्दोलनरत छन् ।

विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले १४ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् । चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् ।

बिज्ञापन

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर, एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्ष पनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

यता प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं संघसंगठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर, मुलुकमा घटेको पछिल्ला राजनीतिक घटनाक्रमले किसानको मुद्दा छायाँमा परेको छ ।

किसानको आन्दोलन र सरकारको चर्को विरोधपछि अन्नपूर्ण, श्रीराम, इन्दिरा र लुम्बिनी सुगर मिलले थोरै भए पनि भुक्तानी प्रक्रिया थालेका छन् । तर, किस्ता किस्तामा गरिएको भुक्तानीलाई किसानले मानेका छैनन् । सरकार र उद्योगीकै मिलेमतोमा थोरै तिरेर बाँकी रकम नदिने रणनीति बनेको हुनसक्ने किसानको आरोप छ ।