
संसद्को प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थिति मूल्यांकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकाल घोषणा गर्ने विषयमा आफू निटक नेतासँग छलफल थालेका छन् । केही दिनअघि सुरक्षा निकायसँग छलफल गरेका ओलीले अहिले राजनीतिक छलफल तीव्र बनाएका छन् ।

संसद विघटनविरुद्ध काठमाडौंसहित देशभर प्रदर्शन हुँदै आएकोे छ । सर्वोच्च अदालतमा समेत दर्जनभन्दा बढी मुद्दा परेका छन् । संसद विघटनविरुद्ध देभभर भएका प्रर्दशन र जनदबाबले अदालतमा विचाराधीन मुद्दालाई दबाब पर्ने चिन्तामा ओली देखिएका छन् । जसलाई रोक्ने रणनीतिमा ओली देखिन्छन् । प्रदर्शन रोक्न संकटकाल घोषणा तयारी हुँदै गरेको दाबी सरकारी स्रोतको छ । विघटनपछि आइतबार प्रधानमन्त्री ओलीले चार सुरक्षा निकाय प्रमुखसँग बालुवाटारमा छलफल गरेका थिए ।



आफ्नो सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिलाई थोरै भए पनि नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री ओलीले संकटकालको विकल्प सोचिरहेका छन् । तर, बहाना भने कोरोना भाइरसलाई बनाउने तयारी छ । ओलीनिटक एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीले शान्ति सुरक्षा र कोभिडलाई कारण देखाउँदै संकटकाल लगाउने विषयमा बालुवाटारमा छलफल चलाइरहेका छन् । तर, ठोस निर्णयमा पुग्न बाँकी छ ।’ यसअघि २०५८ मा माओवादी द्वन्द्व हुँदाका बखत ६ महिना संकटकाल लागेको थियो ।

अहिले भने कोरोना महामारीले संकटकाल लगाउन सजिलो बाहना भएको जानकारहरु बताउँछन् । संविधानको धारा २७३ मा संकटकालको व्यवस्था छ । ‘नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रामण, सशस्त्र विद्रोह, आर्थिक उच्छृंखलता, प्राकृतिक विपत् वा महामारीका कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुन खास क्षेत्रमा लागू हुने गरी संकट घोषणा वा आदेश जारी गर्न सक्नेछ,’ भन्ने व्यस्वस्था छ ।
सुरक्षा निकायका प्रमुख भन्छन्– प्रधानमन्त्रीको मनस्थिति संकटकालमै छ संकटकाल घोषणा गरेको अवस्थामा संविधानतः मौलिक हक निलम्बन हुन सक्ने व्यवस्था छ । तर, राष्ट्रपति प्रधानमन्त्रीको मिलेमतोमा संकटकाल लागू हुन सक्ने हुँदा त्यो संभावना रहेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । संसद विघटनलगतै प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीसँग छलफल गरेका थिए । नेपाली सेनाका एक उच्च अधिकारीले भने, ‘सुरक्षा चुनौतीको विषयमा उहाँले जानकारी माग्नुभयो । हामीले ब्रिफिङ गरेका छौँ । सो छलफलमा उहाँ (प्रधानमन्त्री) ले ‘संकटकाल’को संकेत गर्नुभयो ।’ प्रधानमन्त्रीसँगको छलफललगतै प्रधानसेनापति थापाले आफ्ना सबै पृतनापतिहरुसँग छलफल गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।